प्रतिनिधिसभामा तीन अध्यादेश पेश, शोक प्रस्ताव पारित

131 Shares

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा अध्यादेश पेश गर्नुभएको छ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्नुभएको हो।

नेपालको संविधानको धारा ८४(२) अनुसार समानुपातिकतर्फको बन्द सूचीमा समावेश गरिने जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको बताइएको छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली अद्यावधिक गर्न अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत ल्याउन ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको जानकारी दिनुभयो।

बैठकमा संविधानसभा तथा संसदका पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जनाइएको छ।