ओली र रमेश लेखकको रिहाइको माग गर्दै एमालेको विरोध

106 Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई तत्काल रिहा गर्न माग गरेको छ।

एमाले सांसद प्रेमकुमार दंगाल ले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाउनुभयो। फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाह लाई बधाई दिँदै उहाँले सरकारको कामलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्नुभयो।

दंगालले ओली र लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो’ व्यवहार गर्दै गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाउनुभयो। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिका विषयमा गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदनलाई उहाँले मिथ्याङ्क र पूर्वाग्रहमा आधारित भन्दै खारेज गर्न माग गर्नुभयो।

एमालेले ओली र लेखकको बिना शर्त रिहाइ, उक्त आयोगको प्रतिवेदन खारेजी, मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन तथा प्रतिवेदन तयार गर्ने व्यक्तिहरूमाथि कारबाही गर्न माग गरेको छ।

दंगालले दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका वृद्ध नेतामाथि अपमानजनक ढङ्गले गिरफ्तारी गरिएको भन्दै यसलाई निर्दयी र आपराधिक मनोवृत्ति भएको टिप्पणी गर्नुभयो।

उहाँले सरकारको दमनकारी नीति विरुद्ध देशभर एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत भर्त्सना गर्नुभयो।