काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले दलित समुदायमाथि ऐतिहासिक रूपमा भएको विभेद र अन्यायका लागि सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी माग्नुभएको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले दलित समुदायमाथिको विभेदलाई सामाजिक गल्ती मात्र नभई ‘संगठित अपराध’ को संज्ञा दिनुभयो।
उहाँले सम्बोधनका क्रममा सांसद खगेन्द्र सुनार को प्रसंग उल्लेख गर्दै व्यक्तिगत रूपमा माफी माग्ने परम्परालाई प्रश्न गर्नुभयो। लामिछानेले विगतदेखि दलित समुदायमाथि भएको अन्यायका लागि सामूहिक रूपमा माफी माग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भन्नुभयो कि सरकार पहिलो पटक शताब्दीयौँदेखिको विभेद, अन्याय र अत्याचारका लागि सार्वजनिक रूपमा माफी माग्दैछ र आफूले पार्टी, प्रधानमन्त्री तथा सरकारको तर्फबाट क्षमायाचना गरेको हो।
सम्बोधनका क्रममा उहाँले महिलाहरूको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। महिलाले समाज र परिवारमा ठूलो योगदान दिए पनि पर्याप्त अवसर नपाएको उल्लेख गर्दै अब महिलालाई अवसर अनुग्रह नभई अधिकारका रूपमा सुनिश्चित गरिने उहाँको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया