काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन हुने

141 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।

ललितपुर–काठमाडौंबीचको उत्तर–दक्षिण १६ किलोमिटर रुट र थानकोट–अन्तर्राष्ट्रिय विमानस्थलबीचको पूर्व–पश्चिम २० किलोमिटर रुटमा ४ वटा विद्युतीय बस सञ्चालन गरिनेछ।

महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल का अनुसार सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। हरेक बस स्टपमा करिब २० मिनेटको अन्तरमा बस उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

बसमा सीसीटिभी जडान गरिनेछ भने सुरक्षाका लागि नगर प्रहरी पनि तैनाथ गरिनेछ। कार्यवाहक प्रमुख डंगोलले राति सार्वजनिक यातायात नहुँदा हुने महँगो यात्रा र सुरक्षाको समस्यालाई यो सेवाले समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

विशेषगरी किशोरी, महिला र विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको यो सेवा अत्याधुनिक, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ।