प्रतिनिधिसभाको पहिलो बैठक आज: शीर्ष नेताको सम्बोधनसहित महत्वपूर्ण कार्यसूची

133 Shares

काठमाडौं । चालु अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्ने भएको छ।

बैठक दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बस्नेछ। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संघीय संसद सचिवालयका अनुसार सम्बोधन गर्ने नेताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही रहेका छन्।

त्यस्तै, स्वतन्त्र सांसद महावीर पुन ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सचिवालयका अनुसार दलअनुसार बोल्ने समय निर्धारण गरिएको छ। रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसदलाई ५ मिनेट समय दिइएको छ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने, संसद नियमावली २०७९ प्रस्तुत गर्ने तथा शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूची रहेका छन्।