क्रिमियामा रूसी सैन्य विमान दुर्घटना: मृतक संख्या ३० पुग्यो

133 Shares

एजेन्सी । क्रिमियामा मंगलबार राति भएको रूसी एन–२६ सैन्य यातायात विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।

रूसी अनुसन्धान समितिले घटनाबारे फौजदारी मुद्दा दर्ता गरेको जनाएको छ। प्राप्त जानकारीअनुसार विमानमा ७ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए।

सैन्य अनुसन्धानकर्ताहरू, फरेन्सिक विशेषज्ञहरू तथा आपतकालीन र आन्तरिक मामिला मन्त्रालयका टोलीहरू हाल क्रिमियाको बाख्चिसराय जिल्लाको पहाडी तथा वन क्षेत्रमा खोज तथा उद्धार कार्यमा संलग्न छन्।

रूसी रक्षा मन्त्रालयका अनुसार विमान निर्धारित उडानका क्रममा सम्पर्कविहीन भएको थियो। यसअघि खोज तथा उद्धार टोलीहरूले दुर्घटना स्थल पत्ता लगाइसकेका थिए।

प्रारम्भिक अनुसन्धानले दुर्घटना कुनै शत्रुतापूर्ण आक्रमणका कारण नभई प्राविधिक खराबीका कारण भएको संकेत गरेको छ। घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको छ।