वीर अस्पतालमा हाजिरी कडाइ: ढिलो आए आधा दिन बिदा कटौती हुने

129 Shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ।

समितिको निर्णयअनुसार कार्यालय समयमा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्नेछ। तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको छ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

कार्यालय समय पनि परिवर्तन गर्ने प्रस्ताव गरिएको छ। आगामी वैशाख १ गतेदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कार्यालय समय कायम गर्ने प्रस्ताव गरिएको छ।

समितिको बैठकले सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न १४ वटा महत्त्वपूर्ण निर्णय गरेको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिनुभयो।