संसद् लोकतन्त्रको ऐना: जिम्मेवार भूमिका खेल्न ज्येष्ठ सांसद केसीको आग्रह

133 Shares

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसी ले संसद् राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षाका लागि सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भए पनि ती प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको बताउनुभयो। सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

केसीले बिहीबारको बैठक विवादरहित रूपमा सञ्चालन हुनेमा सबै राजनीतिक दल प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो। संसद् राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिबिम्ब भएको उल्लेख गर्दै यसको संरक्षक सभामुख हुने उहाँको भनाइ छ।

लोकतन्त्र सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै संविधानको रक्षा र जनताको सर्वोच्चताको सुरक्षाका लागि सरकारले गर्ने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

ज्येष्ठ सदस्यको हैसियतले केसीले नै प्रतिनिधिसभाको बिहीबारको बैठक सञ्चालन गर्नेछन्। सभामुखको निर्वाचन नभएसम्म प्रभावकारी रूपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।