एजेन्सी । डोनाल्ड ट्रम्प ले इरान का नयाँ राष्ट्रपतिले युद्धविरामको माग गरेको दाबी गरेका छन्।
सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै उनले इरानका नयाँ राष्ट्रपति अघिल्लाभन्दा कम कट्टर र बढी समझदार रहेको उल्लेख गर्दै अमेरिकासँग युद्ध अन्त्य गर्न आह्वान गरेको बताएका छन्।
ट्रम्पले भनेका छन्, “हामी त्यसबेला मात्रै विचार गर्नेछौं जब हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला, स्वतन्त्र र सुरक्षित हुन्छ।” उनले चेतावनीपूर्ण शैलीमा इरानविरुद्ध कडा कदम चाल्ने संकेत पनि दिएका छन्।
तर ट्रम्पले ‘नयाँ राष्ट्रपति’ भनेर कसलाई संकेत गरेका हुन् भन्ने स्पष्ट छैन। हाल इरानका राष्ट्रपति मसुद पेजेश्कियान नै रहेका छन्, जसको सन् २०२४ मा निर्वाचन भएको थियो।
यसबीच अयातोल्लाह अली खामेनी सहित केही वरिष्ठ इरानी नेताहरू हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ भने उनका छोरा मोज्तबा खामेनी उत्तराधिकारी बनेको बताइएको छ। तर उनको सार्वजनिक उपस्थितिबारे स्पष्ट जानकारी छैन।
इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ताको ट्रम्पको दाबी अस्वीकार गर्दै आएको छ। इरानी मिडियाका अनुसार सीमित रूपमा मध्यस्थकर्तामार्फत सन्देश आदान–प्रदान मात्र भएको जनाएको छ।
यसरी, ट्रम्पको दाबी र वास्तविक अवस्थाबीच फरक देखिएको विश्लेषकहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया