संसदीय बहुमत भए पनि जनमत प्रतिपक्षतर्फ’ — बादल

120 Shares

काठमाडौं । नेकपा एमाले का संसदीय दलका नेता रामबहादुर थापा बादल ले सत्तापक्षसँग संसदीय अंकगणित भए पनि वास्तविक जनमत प्रतिपक्षको पक्षमा रहेको दाबी गर्नुभएको छ।

बुधबार पार्टी कार्यालयमा नेता चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। थापाका अनुसार कुल खसेको १ करोड ८ लाख मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा करिब ४७ प्रतिशत अर्थात झन्डै ५१ लाख मत परेको छ भने बाँकी ५३ प्रतिशत मत प्रतिपक्षतर्फ रहेको छ।

उहाँले नेपाली कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी तथा मधेसवादी दलहरूलाई जनताले प्रतिपक्षको भूमिका दिएको उल्लेख गर्दै सो जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “संसदीय अंकगणितले रास्वपा बहुमतमा देखिए पनि जनमतको हिसाबले ऊ अल्पमतमा छ र प्रतिपक्ष बहुमतमा छ।”

निर्वाचनको विस्तृत समीक्षा आगामी केन्द्रीय समिति बैठकमा गरिने जनाउँदै एमालेले प्रारम्भिक रूपमा यो जनमतलाई आफ्नो शक्ति मान्दै अघि बढ्ने संकेत दिएको छ।