सभामुख चयन चैत २२ मा: मनोनयन २० गते, संसद सञ्चालनमा सहमति

138 Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरेको कविन्द्र बुर्लाकोटी ले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको बताउनुभयो। उहाँका अनुसार बिहीबार बस्ने पहिलो बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश गरिनेछ।

बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नयाँ नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

त्यस्तै, पहिलो बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया सुरु गर्ने तथा शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको छ।

पहिलो बैठकमा गत जेन–जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि राखिने भएको छ।

यसैबीच खुश्बु ओली ले संसद नियमावली संशोधनमा सबै दल सकारात्मक रहेको बताउँदै कार्यव्यवस्था परामर्श समितिमा सबै दलको समान सहभागिता हुनुपर्ने धारणा राख्नुभयो। साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी ले संसदमा समन्वय र सहकार्यसहित प्रभावकारी भूमिका खेल्ने बताएको छ।