इनिशा वि.क मृत्यु प्रकरण: चार किशोर पुर्पक्षका लागि थुनामा

154 Shares

सुर्खेत । सुर्खेत जिल्ला अदालत ले इनिशा वि.क मृत्यु प्रकरणमा संलग्न चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश दिपक ढकाल को एकल इजलाशले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी उज्वल रावल ले सो जानकारी दिएका छन्।

चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी अभियोग दर्ता गरिएको छ। उनीहरू नाबालक भएकाले कारागारमा नभई बालसुधार गृहमा राखिनेछ।

गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगर क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सोही बयानका आधारमा थप तीन जना किशोर पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेत ले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ले सामूहिक बलात्कारपछि हत्या भएको अभियोगसहित मुद्दा दर्ता गरेको छ।

यद्यपि, घटनाको न्यायिक प्रक्रिया सुरु भइसके पनि पीडित परिवारले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। उनीहरूले दोषीलाई कडा कारबाही नभएसम्म शव नउठाउने अडान लिएका कारण इनिशाको शव २४ दिनदेखि अस्पतालको शव गृहमा राखिएको छ।