काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिँदै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टीका महासचिव शंकर पोखरेल का अनुसार वडा, पालिका, जिल्ला र प्रदेश हुँदै वैशाख १२ गते काठमाडौंमा विशाल प्रदर्शनसहित विरोध सभा आयोजना गरिनेछ। सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिइएको छ।
बैठकले नागरिक समाज, विभिन्न पेशागत संघ–संस्थासँग संवाद र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि रघुजी पन्त, योगेश भट्टराई र मीनबहादुर शाही लाई संयोजनको जिम्मेवारी दिइएको छ।
एमालेले उक्त पक्राउलाई “पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण” भन्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने जनाएको छ।
यससँगै पार्टीले वैशाख ९ गते पर्ने नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई पनि छलफल, अन्तरक्रिया र विचार गोष्ठीसहित भव्य रूपमा मनाउन आह्वान गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया