काठमाडौं । नेपाल चेम्बर अफ कमर्स का पूर्वअध्यक्ष राजेन्द्र मल्ल ले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीबीच एकता अपरिहार्य रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे। उनले हार–जितलाई स्वाभाविक प्रक्रिया भन्दै निर्वाचनपछि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
“चुनावमा कोही हार्छन्, कोही जित्छन्, तर चुनावपछि सबै मिलेर अघि बढ्नु आवश्यक छ,” उनले भने, “हामीले विगतदेखि सहकार्य गर्दै आएका छौं र आगामी दिनमा पनि यही सहकार्यलाई निरन्तरता दिनुपर्छ।”
मल्लले निजी क्षेत्रका विभिन्न संघ–संस्थाबीचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे। वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्र एकजुट भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया