मधेशका नेतासँग रवि लामिछानेको संवाद सुरु, सहकार्यमा जोड

105 Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ले मधेश केन्द्रित नेताहरूसँग संवाद थालेको छ।

मंगलबार बिहान सभापति लामिछानेले महन्थ ठाकुर (अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी) र प्रभु साह (अध्यक्ष, आम जनता पार्टी) सँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्।

लोसपा अध्यक्ष ठाकुर लामिछानेको बूढानीलकण्ठस्थित निवासमै पुगेर भेट गरेका थिए। भेटमा वर्तमान राजनीतिक अवस्था, मधेशको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाबारे छलफल भएको बताइएको छ। दुवै पक्ष समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्नेमा सहमत भएका छन्।

यसैगरी, आजपा अध्यक्ष साहसँगको भेटमा पनि मधेशलाई सरकारले प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो। जनमतले परिवर्तनको चाहना देखाएको उल्लेख गर्दै पारस्परिक सहयोगमार्फत अघि बढ्ने समझदारी बनेको जनाइएको छ।

करिब २० मिनेटको भेटमा अध्यक्ष साहले कर्णाली र मधेशलाई प्राथमिकतामा राखेर विकास अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिए। साथै, गत भदौ २३–२४ को आन्दोलन र आगामी राजनीतिक दिशाबारे पनि छलफल भएको उनले बताए।

भेटमा सभापति लामिछानेले सरकार सबैको भएकाले समावेशी विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जवाफमा साहले राम्रो काममा समर्थन र गलत दिशामा गए खबरदारी गर्ने धारणा राखेको बताएका छन्।