कांग्रेसमा भेला सामान्य अभ्यास: शेखर कोइरालाको प्रतिक्रिया

140 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डॉ. शेखर कोइराला ले छुट्टै भेला आयोजना गर्नु पार्टीभित्रको पुरानै अभ्यास भएको बताएका छन्।

आइतबार पूर्णबहादुर खड्का को अगुवाइमा खड्का–शेखर समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ उनले भने, ‘तपाईंहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ।’ संसद्मा भइरहेका गतिविधिबारे जानकारी लिन र छलफल गर्न यस्ता भेला उपयोगी हुने उनले बताए।

कोइरालाले संसद्मा उठ्ने विषयवस्तुबारे संसद्बाहिर रहेका नेताहरूसँग पनि सुझाव लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे। ‘मभन्दा पनि धेरै पुराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरूसँग सरसल्लाह गर्नुहोला,’ उनले भने।

संसद्मा आउने विभिन्न विषयहरूलाई राम्रोसँग बुझेर आवश्यक परे विज्ञहरूसँग छलफल गर्न आफू तयार रहेको पनि कोइरालाले उल्लेख गरे।