कोशीका सांसदसँग प्रधानमन्त्रीको छलफल: समस्या पहिचान र प्राथमिकतामा समाधान गर्ने संकेत

158 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले कोशी प्रदेशका सांसदहरूसँग नागरिकले भोगिरहेका समस्या, सुशासन र सेवा प्रवाहका विषयमा छलफल गर्नुभएको छ।

सोमबार सिंहदरबार मा भएको छलफलमा प्रदेशका तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने विषयमा सबै दलका सांसदहरूसँग विचार–विमर्श गरिएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै यज्ञमणी न्यौपाने ले कोशी प्रदेशका समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने विषयबारे सांसदहरूसँग जिज्ञासा राख्नुभएको थियो।

त्यसैगरी इन्दिरा रानामगर ले आफ्नो निर्वाचन क्षेत्र झापा–२ मा पुल, सिंचाइ तथा तटबन्ध जस्ता विकास निर्माणका समस्या रहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको बताउनुभयो। पुल अभावका कारण विद्यार्थीहरूले समस्या भोग्नुपरेको विषय पनि उहाँले उठाउनुभयो।

प्रधानमन्त्री शाहले सीमित बजेटका कारण प्राथमिकताका आधारमा समस्या समाधान गर्दै अघि बढ्ने धारणा राख्नुभएको सांसदहरूले बताएका छन्।