काठमाडौँ । केपी शर्मा ओली पक्राउ परेपछि मुलुकको राजनीतिक अवस्था थप तनावपूर्ण बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएसँगै उनका समर्थकहरू देशभर सडकमा उत्रिएका छन् ।
राजधानीको भृकुटीमण्डप र च्यासल लगायत स्थानमा ठूलो संख्यामा कार्यकर्ता भेला भई प्रदर्शन गरेका छन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् भने जाँचबुझ प्रतिवेदनसमेत जलाएर विरोध जनाएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।
ओलीको पक्राउसँगै सत्ता र प्रतिपक्षबीचको दूरी बढ्ने तथा संसद् अवरुद्ध हुने सम्भावना बढेको राजनीतिक विश्लेषकहरूले बताएका छन् । साथै, यस घटनाले दलहरूबीच ध्रुवीकरण तीव्र बनाउने आकलन गरिएको छ ।
सरकारले कानुनी प्रक्रियाअनुसार कारबाही गरिएको जनाएको छ भने प्रतिपक्षी दलहरूले यसलाई राजनीतिक प्रतिशोधका रूपमा आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया