काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले ले पदभार ग्रहण गर्नुभएको छ। उहाँले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेपछि अर्थ मन्त्रालय पुगेर औपचारिक जिम्मेवारी सम्हाल्नुभएको हो।
पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का महत्त्वपूर्ण सिफारिश कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार आयोगको सिफारिशअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाइनेछ।
अर्थमन्त्री वाग्लेले २०८२ चैत ११ सम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने योजना रहेको बताउनुभयो। यससँगै सरकारले चुनावी वाचापत्रलाई कार्यान्वयनमा ल्याउन १०० दिनभित्र, अर्धवार्षिक र वार्षिक कार्ययोजना समेत बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो। उहाँले वाचापत्र आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकारले अघि बढ्ने स्पष्ट पार्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया