निर्वाचन नै मुख्य उपलब्धि : ओमप्रकाश अर्याल

153 Shares

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल ले आफ्नो कार्यकालको मुख्य उपलब्धि निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।

जेन–जी जनआन्दोलनपछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको प्रमुख म्याण्डेट नै निर्वाचन गराउनु रहेको उल्लेख गर्दै उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो ।

गृहमन्त्री अर्यालले जनआन्दोलनका माग सम्बोधनलाई प्राथमिकतामा राखिएको बताउँदै आन्दोलनका क्रममा सहादत प्राप्त ४२ जना नागरिक र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी, आन्दोलनमा घाइते भएका ७ सय २९ जनालाई प्रतिव्यक्ति ३५ हजार रुपैयाँ राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ता उपलब्ध गराउने व्यवस्था सुरु गरिएको उहाँले बताउनुभयो । शहीद परिवारका लागि जीवन निर्वाह वृत्तिको व्यवस्था कार्यान्वयनको चरणमा रहेको समेत उहाँको भनाइ छ ।

छोटो अवधिमा गृह मन्त्रालयले नीतिगत र कानूनी क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै उहाँले ६ महिनामा करिब दुई दर्जन कानून तर्जुमा तथा संशोधन गरिएको जानकारी दिनुभयो । जसमा अध्यादेश, नियमावली संशोधन तथा विभिन्न कार्यविधिहरू समावेश छन् ।

आन्दोलनका क्रममा क्षतिग्रस्त ४ सय ६५ सरकारी कार्यालयहरूको पुनर्निर्माण गरी सेवा प्रवाह पूर्ण रूपमा सञ्चालनमा ल्याइएकोलाई उहाँले महत्वपूर्ण प्रशासनिक उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।

आफूलाई व्यावसायिक व्यक्ति बताउँदै अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्व र ‘बटम–अप’ दृष्टिकोण लागू गरिएको दाबी गर्नुभयो । उहाँका अनुसार कर्मचारीतन्त्र र सुरक्षा निकायको मनोबल उच्च बनाउन कार्य वातावरण सुधारमा जोड दिइएको छ ।

साथै, उहाँले राष्ट्र सेवक र सुरक्षा निकायको मनोबल गिराउने ‘गलत भाष्य’ विरुद्ध उभिनुपर्नेमा जोड दिँदै सत्यका आधारमा संस्थाको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।