कार्की आयोगको प्रतिवेदन ‘कुकर्म’ र ‘भद्दा नाटक’ : केपी शर्मा ओली

140 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिनुभएको छ ।

उहाँले फौजदारी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानुनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताउनुभयो ।

अध्यक्ष ओलीले ती दफा आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो । उहाँले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र स्वयं गोली नचलाउने भन्दै आयोगका पदाधिकारीहरू एमालेप्रति पूर्वाग्रही रहेको आरोप लगाउनुभयो ।

“घटनास्थलमा उपस्थित नभएको व्यक्तिलाई लापरवाहीको आरोप लगाउन मिल्दैन,” उहाँले भन्नुभयो, “दफा १८१ र १८२ को सन्दर्भमा गरिएको सिफारिस पूर्ण रूपमा निराधार छ ।”

उहाँले प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको विषयलाई पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै यसलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने प्रयासको रूपमा व्याख्या गर्नुभयो ।

ओलीले यस्तो सिफारिस ‘घृणाको राजनीति’ को अर्को प्रकटीकरण भएको टिप्पणीसमेत गर्नुभयो ।