देशभर ७,२३१ विपद्का घटना, ४७९ जनाको मृत्यु
काठमाडौं: गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २ सय ३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण १३ हजार ९८ परिवार प्रभावित भएका छन्। सोही अवधिमा ४ सय ७९ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय जना घाइते भएका छन्।
प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा ३ हजार ४ सय ८० वटा आगलागीका घटना भएका छन्। त्यस्तै, बाढीका ३ सय २१, पहिरोका ६ सय ४, भारी वर्षाका ४ सय ४२, चट्याङका ४ सय ६ र सर्पदंशका ६ सय घटना भएका छन्।
यसैगरी, वन डढेलोका २ सय ७९, हुरीबतासका ४ सय ५१, जनावर आक्रमणका ५ सय ४, लेक लागेका १ सय २३ र हिमपहिरोका ५ वटा घटना भएका छन्।
त्यस्तै, भूकम्पका ७, असिना र डुङ्गा पल्टेका २–२ घटना भएका छन् भने असिनासहित हुरी र शीतलहरका १–१ घटना भएका छन्। यसैबीच, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ। एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागीका घटना हुँदा १० जना घाइते भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया