कार्की आयोगको प्रतिवेदनप्रति बारको असहमति, आज छलफल बैठक

96 Shares

काठमाडौं: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ।

बारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई न्यायालयसम्बन्धी विषयहरू आपत्तिजनक ढंगले प्रतिवेदनमा समावेश गरिएको भन्दै आपत्ति जनाएको हो।

यस विषयमा छलफल गर्न आज दिउँसो साढे एक बजे सल्लाहकार समिति बैठक बोलाइएको जानकारी दिइएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक प्रभाव पार्ने गरी प्रतिवेदन आएकोले असहमति जनाइएको हो।

उनले भने, ‘यस विषयमा बैठकमा कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ।’ प्रतिवेदनमा न्यायमा पहुँच, वकिलको शुल्क (फि) सम्बन्धी विकृति तथा विसंगति तथा न्याय प्रणालीलाई ‘वकिलको स्वर्ग’ हुनबाट जोगाउनुपर्ने जस्ता विषय उठाइएको छ।

सर्वसाधारणले सहज रूपमा न्याय पाउन नसकेको, पहुँच र आर्थिक अवस्था कमजोर भएकाका लागि न्याय टाढाको विषय बनेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै, कार्की आयोगको प्रतिवेदनमा उठाइएका विषयबारे थप छलफल गर्न बारको संवैधानिक समितिको बैठक पनि बस्ने जनाइएको छ।