सुशासनका लागि नयाँ सरकारसँग सहकार्य गर्न कांग्रेस तयार : गगन थापा

137 Shares

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका लागि अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने कांग्रेसको मुख्य माग रहने बताए।

थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आवश्यक रहेको उल्लेख गर्दै अब गठन हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारसँग यस विषयमा प्रस्ताव गर्ने जानकारी दिए।

उनले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नागरिक अपेक्षा रहेको भन्दै भ्रष्टाचारका फाइलहरू राजनीतिक खपतका लागि मात्र खोलिन नहुने स्पष्ट पारे। विगत ३५ वर्षमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले सबै काण्डहरूमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए।

थापाले भने, “२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ। अवैध देखिएमा जफत गर्नुपर्छ। यो विषयलाई सार्वजनिक खपतको रूपमा प्रयोग गर्नु हुँदैन, कानूनी प्रक्रियामार्फत निष्पक्ष अनुसन्धान हुनुपर्छ।”

उनले आगामी पाँच वर्ष कांग्रेसले प्रतिपक्षको भूमिकाबाट जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।