काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिवेदन गोप्य राखिएको भन्दै विभिन्न तहबाट प्रश्न उठिरहेका बेला सरकारले त्यसलाई सार्वजनिक गर्ने तयारी अघि बढाएको हो। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की ले प्रतिवेदन सार्वजनिक गर्नुअघि केही वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहनुभएको छ।
उक्त छलफलपछि प्रतिवेदन सार्वजनिक गर्ने मिति तय गरिने बताइएको छ। एक उच्च सरकारी अधिकारीका अनुसार मंगलबार वा बुधबारसम्ममा प्रतिवेदन सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल ले भने प्रतिवेदन सार्वजनिक हुनेबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की को नेतृत्वमा गठित आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया