मधेशमा चैती छठको रौनक, आज अस्ताउँदो सूर्यलाई अर्घ्य

139 Shares

जनकपुरधाम । चैती छठ पर्व का अवसरमा जनकपुरधामसहित मधेश प्रदेशमा आज धुमधामका साथ पूजा–आराधना भइरहेको छ। चैती छठको मूल विधिअनुसार आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गर्दैछन्।

भोलि बिहान उदाउँदो सूर्यदेव दिनानाथलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् समापन हुने परम्परा रहेको छ। जनकपुरधामका प्रमुख जलाशय गंगासागर र अर्गजासरलाई विशेष रूपमा सजाएर पर्व मनाउने गरिएको छ।

धार्मिक विश्वासअनुसार चैती छठ व्रत गर्दा मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग नलाग्ने जनविश्वास रहेको छ। अत्यन्त नियम र निष्ठासाथ चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन उपवास बस्ने चलन छ।

तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू निराहार उपवास बसेर साँझ जलाशयमा स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। सूर्यास्तभन्दा करिब एक घण्टा अघिदेखि नै व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै पूजा–अर्चना गर्छन्।

अर्घ्यमा ठेकुवा, भुसुवा, मुला, उखु, भण्टा, केरा, नरिवललगायत सामग्री प्रसादका रूपमा चढाइन्छ। व्रतालुहरू रातभर जाग्राम बसेर भोलिपल्ट चैत्र शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न गर्ने परम्परा रहेको छ।

कात्तिकमा मनाइने छठ पर्वजत्तिको भीड नभए पनि चैती छठ मनाउनेको संख्या बर्सेनि बढ्दै गएको छ।