काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। यस क्रममा कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ।
दिउँसोतिर कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्रमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी रातिको समयमा हिमाली भू-भागमा सामान्य बदली, पहाडी भू-भागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया