अर्थशास्त्री केशव आचार्यको निधन

118 Shares

काठमाडौं । वरिष्ठ अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान उहाँको निधन भएको हो। गत मंगलबार बिहान पूजा गर्न फूल टिपेर फर्किने क्रममा असहज महसुस भएपछि उहाँ घरमै बेहोस हुनुभएको थियो। त्यसपछि अस्पतालमा भर्ना गरी मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

आचार्यका एक छोरा र एक छोरी रहेका छन्। हाल उहाँको पार्थिव शरीर ओम नर्सिङ होममा राखिएको छ। विदेशमा रहेकी छोरी भोलि बिहान आइपुग्ने भएकाले अन्तिम संस्कार मंगलबार दिउँसो पशुपति आर्यघाटमा गरिने कार्यक्रम तय गरिएको छ।

नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी सेवा गरेका आचार्य दुई पटक अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार समेत रहनुभएको थियो। मौद्रिक नीति, आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्रका विज्ञका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो।