काठमाडौं । अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको जानकारी दिनुभयो।
उहाँका अनुसार पूर्वसूचना प्रणालीलाई सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ। जल, मौसम, जलवायु र हिमसम्बन्धी तथ्यांक संकलनमा गरिने लगानीले भविष्यमा अध्ययन, अनुसन्धान, विपद् न्यूनीकरण र पूर्वतयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपालको भौगोलिक विविधताका कारण यहाँको मौसम प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लिने दर वृद्धि तथा हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएको बताउनुभयो।
उहाँले यस्ता घटनाले जनजीवन, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको भन्दै प्रभावकारी सूचना प्रणालीमार्फत विपद् जोखिम न्यूनीकरण र सुरक्षित भविष्य निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
साथै, महिला तथा बालबालिकामा भाषागत समस्याका कारण पूर्वसूचनाको पहुँच कम हुने अवस्थालाई सुधार गर्न विशेष ध्यान दिइने र आवश्यक नीति–नियम निर्माणको तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया