काठमाडौं । संघीय संसद्मा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी उक्त सुविधाबाट वञ्चित हुने भएका हुन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभामा १० जनाभन्दा बढी सदस्य भएका दलले मात्र प्रमुख सचेतकको सुविधा पाउने व्यवस्था छ ।
हाल श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद मात्र रहेका छन् । अन्य दलहरूमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २५ र नेपाल कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन् ।
कानुनी व्यवस्थाअनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, कार्यालय सहयोगी, मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च लगायत सुविधा पाउँछन् ।
यद्यपि, यस्तो व्यवस्थाको साना दलहरूले विरोध गर्दै आएका छन् । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राष्ट्रिय दलको मान्यता पाएपछि सेवा–सुविधामा विभेद हुन नहुने बताएका छन् ।
उनले सांसद संख्या आधारमा सुविधा फरक–फरक हुनु उचित नभएको बताउँदै यस्तो व्यवस्थाले साना दलमाथि विभेद गरेको टिप्पणी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया