काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गर्दै सेवा प्रवाह सुरु गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अब सेवाग्राहीहरूले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट हट्नेछ । राष्ट्रिय परिचयपत्रका लागि छुट्टै आवेदन फारम भर्नु पर्ने बाध्यता हट्दै सेवा झन् सहज हुने बताइएको छ ।
गृहमन्त्री अर्यालले बायोमेट्रिक विवरण दिन राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने प्रक्रिया हटाइँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताए । उनले नागरिकमैत्री सेवा विस्तार गर्दै झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको स्पष्ट पारे ।
हाल केही सेवा केन्द्रबाट केन्द्रिकृत सेवा सुरु भइसकेको र आगामी दिनमा देशभर विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया