काठमाडौं । इजरायलमा इरानी आक्रमणपछि देशभरका सबै विद्यालयहरू बन्द गरिएका छन् ।
इजरायलका शिक्षामन्त्री योव किशले डिमोना र अराद क्षेत्रमा भएको आक्रमणपछि होम फ्रन्ट कमान्डसँग परामर्श गरी आइतबार र सोमबारका लागि सबै भौतिक कक्षाहरू सञ्चालन नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत अब कुनै पनि प्रकारका छुट र भौतिक उपस्थितिमा हुने कक्षाहरू सञ्चालन गर्न नपाइने बताएका छन् । साथै विशेष शिक्षाका लागि दिइएका छुटहरू समेत निलम्बन गरिने र देशभर अनलाइन कक्षाहरू सञ्चालन गरिने जनाइएको छ ।
शिक्षामन्त्री किशका अनुसार बालबालिकाका लागि तोकिएका ‘पहेंलो क्षेत्र’हरू पनि यस अवधिमा बन्द रहनेछन् । मंगलबार अघि अवस्थाको पुनर्मूल्यांकन गरेर मात्र थप निर्णय लिने उनले बताएका छन् ।
इजरायलका आपतकालीन सेवाका अनुसार दक्षिणी शहर अरादमा इरानी क्षेप्यास्त्र आक्रमणबाट उल्लेखनीय क्षति भएको छ । उक्त आक्रमणमा ८८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसैबीच, बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘धेरै कठिन साँझ’ भएको टिप्पणी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया