काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा गम्भीर घाइते भएकी उनलाई मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो ।
उक्त घटनामा अन्य चार जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन् । गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडेल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उद्धार कार्य गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया