२४ घण्टामा ३० जिल्लामा ३६ विपद्का घटना, एकको मृत्यु १४ घाइते

166 Shares

काठमाडाैं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशका ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन्।

चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका घटनामा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। यस अवधिमा सबैभन्दा बढी चट्याङका घटना भएका छन्।

प्राधिकरणका अनुसार ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा १० जना घाइते भएका छन् भने ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन्। यस्तै, लेक लाग्ने घटनामा २ जिल्लामा २ वटा घटना भएका छन्, जसमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी तथा जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन्।

३० लाखभन्दा बढीको आर्थिक क्षति
यी विपद्का घटनाबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। साथै, ३० वटा चौपायाको पनि क्षति भएको छ।

उद्धार तथा राहतका लागि देशभर १ सय ७७ जना प्रहरी परिचालन गरिएको जनाइएको छ।

७ हजारभन्दा बढी घटना, ४ सय ७९ को मृत्यु
२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको तथ्यांकअनुसार नेपालमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटना भएका छन्। जसमा ४ सय ७९ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन्। यस अवधिमा १ हजार ८ सय ७० जना घाइते भएका छन्।

विगत एक वर्षको अवस्था
विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटनाबाट १०२ जनाको मृत्यु भएको छ। सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको ज्यान गएको छ। त्यसैगरी पहिरोका ६०१ घटनाबाट ७४, जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५, चट्याङका ३ सय ९३ घटनाबाट ४७ र बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ।

यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन्।