होर्मुज जलमार्गमा इरानी नियन्त्रणमा नेपाली युवक, उद्धार पहल जारी

115 Shares

काठमाडौं — इरानइजरायल बीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्य बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्।

इरानी सेनाले एक व्यापारिक जहाज नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो। परराष्ट्र मन्त्रालय ले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार जहाजमा रहेका सबै ‘क्रू मेम्बर’ लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ।

प्रवक्ता लोकबहादुर क्षेत्री का अनुसार अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए।

इरानी रिभोलुसनरी गार्ड्स ले इजरायलसँग सम्बन्ध रहेको आशंकामा उक्त जहाजलाई होर्मुज जलमार्गबाट नियन्त्रणमा लिएको जनाइएको छ। झाका परिवारले उनी सम्पर्कविहीन भएपछि मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए।

मन्त्रालयले तेहरान स्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइका लागि पहल भइरहेको जनाएको छ।

होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक हो, जसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्दछ।

यसैबीच, मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ८२ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।