काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई अझ सबल र सुदृढ बनाउने बताएका छन्।
इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद उल फित्र का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले उक्त पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
सन्देशमा उनले भनेका छन्, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति तथा भाइचाराको भावना अभिवृद्धि गर्दै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।”
ईद उल फित्र पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई त्यागेर आपसमा खुसी साटासाट गर्दै मनाउने गरिन्छ। यस अवसरमा विशेष नमाज अदा गरी ठूलाबडाबाट आशीर्वाद लिने तथा दिने चलन छ। साथै, मिष्टान्न परिकार खाने र खुवाउने परम्परा पनि रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया