पश्चिम एशियामा ८२ हजार नेपाली दर्ता, उद्धारका लागि सरकार तयार: परराष्ट्र मन्त्रालय

166 Shares

काठमाडौं । परराष्ट्र मन्त्रालय ले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा पश्चिम एशियाबाट ८२ हजारभन्दा बढी नेपाली नागरिकले विवरण दर्ता गराएको जनाएको छ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्री ले हालसम्म ८२ हजार १ सय नेपालीले दर्ता गराएको जानकारी दिएका हुन्।

उनका अनुसार दर्ता भएकामध्ये सुरुमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको बताएका थिए भने पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेको संख्या उल्लेख्य रूपमा घटेको छ।

इजरायल, अमेरिकाइरान बीचको तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा ७८ वटा कलसहित १७० पटक सम्पर्क भएको पनि उनले जानकारी दिए।

प्रवक्ता क्षेत्रीका अनुसार हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा अलपत्र अवस्थामा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको जनाइएको छ।

मन्त्रालयले १० वटै नियोगमार्फत नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने काम भइरहेको बताएको छ। साथै आवश्यक परे उद्धारका लागि सरकार तयार रहेको पनि स्पष्ट गरिएको छ।