गगन थापाको राजीनामा अस्वीकृत गर्न बहुमतको धारणा

148 Shares

काठमाडौं । नेपाली कांग्रेस का अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति गगनकुमार थापा ले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन्।

जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्मा ले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका छन्। बैठकमा बोल्ने बहुमत सदस्यहरूले नैतिकताको आधारमा दिएको राजीनामाको सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने मत राखेको पार्टी प्रवक्ता देवराज चालिसे ले जानकारी दिएका छन्।

उनका अनुसार अधिकांश सदस्यहरूले देशको पछिल्लो परिस्थिति र पार्टी पुनर्निर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन्। अहिलेको चुनौतीपूर्ण समयमा पार्टीलाई सम्हाल्न र जिम्मेवारीका साथ अघि बढाउन पनि थापाकै आवश्यकता रहेको धारणा व्यक्त गरिएको छ।

सभापति थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामाबारे बैठकमा छलफल जारी रहेको छ। साथै बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट आएको जनमत स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ।