काठमाडौं । अर्जुननरसिंह केसी ले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन्।
नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठकअघि सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले पार्टी सभापति गगनकुमार थापा को राजीनामा मागलाई बेठिक ठहर गरेका छन्।
“पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान मिल्दैन,” भन्दै उनले नेतृत्वले जिम्मेवारी वहन गर्नुपर्ने बताए। साथै उनले निर्वाचन परिणामबाट नआत्तिन कार्यकर्ताहरूलाई आग्रह गरे।
नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई स्थिरता, समृद्धि र विकासका लागि काम गर्न आग्रह गर्दै लोकतन्त्र संरक्षणमा कांग्रेसले सहयोग गर्ने बताए।
उनले पार्टीका विगतका विकृति र विसंगतिहरू तत्काल समाधान नहुने उल्लेख गर्दै छोटो समयमै “जादुई परिवर्तन” खोज्नु व्यवहारिक नहुने बताए। वर्तमान अवस्थामा पार्टीलाई सभापति थापाकै आवश्यकता रहेको उनको भनाइ छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे छलफल भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया