सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरु, चैत १२ गते जात्रा

123 Shares

काठमाडौं । सेतो मच्छिन्द्रनाथ जात्रा का लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरु भएको छ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर को मूर्तिको रथयात्राका लागि रथ बनाउन थालिएको हो। परम्पराअनुसार काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराइन्छ। यस वर्षको जात्रा चैत १२ गते पर्ने भएको छ।

करुणामय तथा आर्याअवलोकितेश्वरका नामले समेत चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गरेपछि नगर परिक्रमा गराउने चलन रहेको छ।

जात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुने परम्परा छ।

किंवदन्तीअनुसार प्राचीनकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत जोत्ने क्रममा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगेर धानको भकारीमा राख्दा जति धान झिके पनि नसकिएपछि मूर्तिलाई अन्नदाता मानी जनबहालमा स्थापना गरिएको विश्वास छ।

सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेको स्थान जमलमै रथ निर्माण गर्ने चलन रहिआएको छ। काठमाडौं उपत्यकामा जमल, बनेपा, नाला, ललितपुरको बुङमति र चोभारमा गरी चार स्थानमा मच्छिन्द्रनाथका स्वरूपहरू पूजिने परम्परा रहेको छ।