काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको रणनीतिसँगै सभापति गगन थापाको राजीनामाबारे ठोस निर्णय हुने बताइएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरू र प्रदेश सभापतिहरूको उपस्थितिका लागि आह्वान गरिएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले कमजोर नतिजा प्राप्त गरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । पार्टी विधानअनुसार सभापतिले आफ्नो राजीनामा उपसभापतिलाई बुझाउने र उपसभापतिले त्यसलाई केन्द्रीय कार्यसमितिमा पेस गर्ने व्यवस्था छ ।
महामन्त्री प्रदीप पौडेलका अनुसार आजको बैठकको प्रारम्भमै सभापति थापाको राजीनामा पत्रमाथि छलफल हुनेछ । थापाले आफ्नो राजीनामा ‘पराजित मानसिकता’ नभई ‘जिम्मेवारीबोधको अभिव्यक्ति’ भएको उल्लेख गरेका छन् । उनले सभापति पदबाट हटे पनि पार्टी सुधार र पुनर्निर्माणको यात्रामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यद्यपि, पार्टीभित्र थापाको राजीनामालाई लिएर दुई धार देखिएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षका कतिपय नेताहरूले नैतिकताको प्रश्न उठाउँदै थापाको राजीनामा मागे पनि संस्थापन इतर र कार्यसमितिका बहुसंख्यक सदस्यहरू भने राजीनामा स्वीकृत गर्न नहुने पक्षमा छन् ।
उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन् । ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायासंगत हुँदैन’ भन्दै शर्माले थापाको राजीनामा रोक्ने तयारी गरेका छन् । विशेष महाधिवेशनबाट चुनिएको वर्तमान कार्यसमितिले पुरानो नेतृत्वको पालादेखिका विकृतिको भारी बोक्नुपर्ने अवस्था आएको शर्माको तर्क छ ।
बैठकमा उपसभापति शर्माले चुनावी समीक्षासँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ लैजाने तयारी गरेका छन् । महामन्त्री पौडेलले पनि विशेष महाधिवेशनले सुम्पेको नियमित महाधिवेशन गराउने मुख्य जिम्मेवारीबाट सभापति भाग्न नमिल्ने बताए ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ र ‘अबकी बार सय पार’ को नारासहित निर्वाचनमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा मात्र जित हासिल गरेको थियो । स्वयं सभापति थापा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए । कांग्रेसले बैठकबाट पार्टीलाई नयाँ ढंगले अघि बढाउने रणनीति तय गर्ने नेताहरूको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया