मानवतामा आधारित राजनीति गर्न मुख्यमन्त्री बानियाँको जोड

107 Shares

काठमाडाैं । इन्द्रबहादुर बानियाँ ले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ को ११औँ राष्ट्रिय महाधिवेशनलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापना भएपछि सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको बताउनुभयो ।

गणतन्त्रपछिका उपलब्धिहरू उल्लेख गर्दै उहाँले जनजाति, मधेसी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार पाइसकेको भन्दै अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको उल्लेख गर्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी रूपमा प्रयोग गर्न नहुने बताउनुभयो ।

सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै उहाँले त्यतिबेला जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकले ज्यान गुमाएको स्मरण गर्नुभयो । “राजनीति मानवताको आधारमा हुनुपर्छ, जात र धर्मको नाममा होइन,” उहाँको भनाइ थियो ।

सबै वर्ग र समुदायको अधिकार कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।