संविधानको धारा ७६ (१) अनुसार सरकार गठन: बालेन्द्र साह प्रधानमन्त्री नियुक्त हुँदै

147 Shares

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोग ले आज राष्ट्रपति रामचन्द्र पौडेल लाई मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्न लागेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी बाट करिब दुई तिहाइ (१८२) सांसद विजयी भएका छन्। प्रत्यक्षतर्फ रास्वपाबाट १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन्। अन्य दलमा नेपाली कांग्रेस ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, नेपाली कम्युनिष्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ तथा एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

नेपालको संविधानको धारा ७६ अन्तर्गत बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। वरिष्ठ नेता बालेन्द्र साह लाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी रास्वपा ले अघि बढाएको छ। कानुनविद्हरूका अनुसार एकल बहुमत प्राप्त दलको संसदीय दलको नेता संविधानअनुसार प्रधानमन्त्री बन्न सक्नेछन्।

सङ्घीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदलाई चैत १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेको छ। शपथ ग्रहणपछि संसदीय दलको नेता चयन हुनेछ र त्यसपछि राष्ट्रपतिले बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया पूरा हुनेछ।

निर्वाचनको नतिजा प्रकाशन भएको सात दिनभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ। आयोगले आज समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।

संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ। सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। नयाँ संसद् भवन सिंहदरबास्थित निर्माणाधीन रहेको र अबको बैठक त्यहाँ बस्ने तयारीमा रहेको सचिवालयले जनाएको छ।