पश्चिमी प्रणालीको प्रभाव: देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

120 Shares

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

बिहीबार बिहान देशको हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ भने कोशी प्रदेश को पहाडी भू-भाग र मधेश प्रदेश मा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कोशी र बागमती प्रदेश का पहाडी–हिमाली भू-भाग तथा सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । ती प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।