नवनिर्वाचित सांसदको शपथ चैत १२ मा गराउने तयारी

162 Shares

काठमडाैं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते गराउने तयारी गरिएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार प्रमाणपत्र दिने र सोही दिन निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ। आयोगबाट जानकारी प्राप्त भएपछि शपथको मिति औपचारिक रूपमा सार्वजनिक गरिने संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उनका अनुसार “निर्वाचन आयोगबाट चैत ५ गते प्रतिवेदन प्राप्त भएपछि भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने तयारी भइरहेको छ।” उनले चैत १२ गते शपथ गराउने तयारी रहेको र यस विषयमा राजनीतिक दलहरूसँग छलफल भइरहेको बताए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी १६२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले ३५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित अर्को प्रमुख दलको रूपमा रहेका छन्।

यसपटकको निर्वाचनबाट श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल बनेको छ भने राप्रपा ५ सिटसहित छैठौं स्थानमा रहेको छ। एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।