रवि लामिछानेको सांसदलाई सुझाव: सकेसम्म सरकारी अस्पतालमै उपचार गराउनुस्

136 Shares

काठमडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्।

ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आकस्मिक अवस्था बाहेक सरकारी अस्पतालमै उपचार गराउन सुझाव दिएका हुन्। “सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्, सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ,” उनले भने।

उनले रास्वपा स्थापना भएको चार वर्ष पनि नपुग्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै जनताले दिएको ठूलो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

“हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य वा उच्च सार्वजनिक जीवन होला,” उनले भने, “तर आफ्नो सरकार बहुमतमा रहन्छ वा संख्या घट्ला भन्ने कुरामा अल्झिनु भन्दा काममा लाग्नुस्।”