काठमडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताउनुभएको छ।
महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै सन १९८४ को भारतीय लोकसभा निर्वाचनको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले त्यतिबेला कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको र भाजपा केवल २ सिटमा सीमित रहेको स्मरण गराउनुभयो। ‘सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको बालेन लहर जस्तै राजीव लहर’ देखिएको उहाँको भनाइ थियो।
महासचिव पोखरेलले कांग्रेस (आई) ले विशाल सफलता हासिल गरे पनि क्रमशः कमजोर हुँदै गएको र भाजपा विस्तारै सशक्त बन्दै गएको प्रक्रिया उल्लेख गर्दै, यसबाट दीर्घकालीन राजनीतिक स्थायित्वका लागि संगठनको मजबुत संरचना, निरन्तर जनसमर्थन र जनअपेक्षा पूरा गर्ने क्षमता आवश्यक रहेको तर्क गर्नुभयो।
उहाँले जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुने र जित्ने तथा हार्ने दुवै परिस्थितिमा यही सिकाइ रहने बताउनुभयो।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले अनपेक्षित पराजय व्यहोरेपछि पार्टी पुनर्गठनको आवाज उठ्दै आएको र मातहतका केही कमिटीहरूले स्वःस्फूर्त समीक्षा सुरु गरिसकेको महासचिव पोखरेलले औँल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया