काठमाडौं । नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ।
सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमनका क्रममा ललितपुरको हरिसिद्धि गोदाममा ती सिलिन्डर स्टक गरेर राखिएको अवस्थामा फेला परेको थियो।
निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उद्योगलाई ती सिलिन्डरको बिक्री वितरण व्यवस्थापन गर्न निर्देशन दिएको हो। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार १४.२ किलोका सिलिन्डर दुई तरिकाबाट बजारमा पठाइनेछन्।
जसमध्ये ६ हजार थान सिलिन्डर निगमको प्रत्यक्ष निगरानीमा उद्योगका आफ्नै डिलरमार्फत बिक्री गरिनेछ भने बाँकी ३ सय ७७ थान सिलिन्डर टेकुस्थित निगम कार्यालयबाटै वितरण गरिने व्यवस्था गरिएको छ।
उपभोक्ता ठगी रोक्न निगमले कडा निर्देशन दिँदै प्रत्येक सिलिन्डरको तौल र तोकिएको मूल्य अनिवार्य जाँच गर्नुपर्ने जनाएको छ। साथै, उद्योगलाई नयाँ सिलिन्डर बिक्रीमा पूर्ण रोक लगाइएको छ र अन्य ग्यास कम्पनीसँग सिलिन्डर साटफेर (एक्स्चेन्ज) गर्न पनि निषेध गरिएको छ।
यसका साथै उद्योगले दैनिक बिक्री विवरण निगमलाई अनिवार्य रूपमा बुझाउनुपर्नेछ। पारदर्शिता र प्रभावकारी अनुगमनका लागि उक्त जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायलाई समेत पठाइएको निगमले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया