काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गर्नुभएको थियो। सो अवसरमा एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन एमालेले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले खेलेको सहयोगी भूमिकाका लागि धन्यवाद दिन चाहन्छु।”
निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई आग्रह गर्नुभयो। साथै अटल बिहारी वाजपेयी र इन्दिरा गान्धीका पालामा भएका राजनीतिक उतार–चढावको उदाहरण दिँदै राजनीति निरन्तरको प्रक्रिया भएको बताउनुभयो।
एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई बधाई दिएका छन्।
उनीहरूले कठिन घडीमा मुलुकलाई सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएको भन्दै धन्यवाद व्यक्त गर्दै यसपालिको निर्वाचनमा प्रशासन निष्पक्ष रहेको र चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण तथा कम खर्चिलो भएको अनुभव पनि साझा गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया