बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका पाँच जना बेपत्ता

132 Shares

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार आइतबार बेलुका करिब ५ बजेतिर सिकार खेल्न गएका व्यक्तिहरू बेपत्ता भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

हाल प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ। साथै घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई पनि जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ।